RayNewsDaily
संविधान संशोधनमा संवेदनशीलता बुझ्न सभापति थापाको जोड

• संविधान संशोधनमा संवेदनशीलता बुझ्न सभापति थापाको आग्रह ।
• नागरिकका हकअधिकार थप विस्तार गर्नुपर्नेमा जोड ।
• लोकतन्त्र र संवैधानिक उपलब्धि जोगाउन कांग्रेस प्रतिबद्ध ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन गर्दा त्यसभित्र रहेका संवेदनशील पक्षलाई गम्भीर रूपमा बुझ्नुपर्ने बताउनुभएको छ । संवेदनशीलता बेवास्ता गरिए मुलुक दुर्घटनातर्फ जान सक्ने उहाँको चेतावनी छ ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधानमा समयानुकूल संशोधन हुन सक्ने भए पनि नागरिकले प्राप्त गरेका हकअधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली कांग्रेस मुलुकको राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनदेखि संविधानसभामार्फत संविधान जारी गर्नेसम्मका ऐतिहासिक उपलब्धिमा कांग्रेसको नेतृत्व रहेको बताउनुभयो ।

सभापति थापाले लोकतन्त्रमा सरकार र प्रतिपक्ष दुवै समान रूपमा महत्वपूर्ण हुने उल्लेख गर्दै प्रतिपक्षले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रमा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिको पहिचानसँग जोडिएका संवैधानिक अधिकारको संरक्षणका लागि सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले ठूलो बलिदानबाट प्राप्त संवैधानिक उपलब्धिलाई जोगाउँदै व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लोकप्रियताका नाममा ती अधिकार कमजोर बनाउने प्रयास हुनसक्ने भएकाले त्यस्ता प्रवृत्तिप्रति सचेत रहन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेता आङ्देम्बेले आदिवासी, जनजाति, महिला, मधेसी तथा पछाडि पारिएका सबै समुदायका अधिकारको संरक्षण र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update