- साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस मनाइने ।
- भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्याली हुने ।
- देशभर साताव्यापी सांस्कृतिक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ।
रे समाचार/काठमाडौँ । काठमाडौँ, २१ साउनः नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकताः पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइने भएको हो ।
महासङ्घले आज पत्रकार सम्मेलन गर्दै आदिवासी जनजातिको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, पहिचान र अधिकारप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले दिवस मनाउन लागिएको जनाएको छ ।
महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सुदृढ बनाउने तथा संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यका साथ कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो ।
साउन २४ गते भृकुटीमण्डपबाट मौलिक वेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहितको र्याली सुरु भई टुँडिखेलस्थित खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।
दिवसका अवसरमा मौलिक नृत्य, गीत, सांस्कृतिक प्रस्तुति, परम्परागत खाद्य संस्कृति, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिनेछ । साथै आदिवासी अधिकार, भाषा, संस्कृति, समावेशी विकास र नीतिनिर्माणसम्बन्धी छलफल, रक्तदान, वृक्षरोपण, युवा तथा महिला सम्मेलन, पुस्तक र फोटो प्रदर्शनीलगायत साताव्यापी कार्यक्रम सञ्चालन गरिनेछ ।
