- मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय ।
- घाइतेको उपचार सरकारले गर्ने ।
- मन्त्रिपरिषद्बाट थप चार महत्वपूर्ण निर्णय ।
काठमाडौँ । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने तथा घाइतेको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक डा. रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै, नेपाल इन्टरमोडेल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले पशुवधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने तथा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ । रासस
