- नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र ।
- सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक ।
- कांग्रेस र एमाले दुवै आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा ।
रे समाचार/बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र भएको छ । सत्ता समीकरण टुङ्ग्याउन प्रमुख दलहरूले अन्य दलसँग पनि वार्ता अघि बढाएका छन् ।
सरकार गठनका लागि नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता साझेदारीमा सहमति भइसकेको जनाउँदै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग पनि छलफल जारी रहेको जनाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार सरकार गठनको गतिरोध अन्त्य गर्ने उद्देश्यले दलहरूबीच वार्ता तीव्र बनाइएको छ ।
यता, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि नयाँ सरकार गठनको अन्योल अन्त्य गर्न सबै दलसँग छलफल गर्नुभएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिनुभयो ।
मुख्यमन्त्री बानियाँले स्पष्ट बहुमत जुटाएर नयाँ सरकार गठन गर्न वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गरी राजनीतिक अन्योल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
कांग्रेस नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढे पनि कुनै पक्षले आवश्यक बहुमत जुटाउन नसक्दा सरकार निर्माण अझै निष्कर्षमा पुग्न सकेको छैन ।
प्रदेशमा कांग्रेस र एमाले दुवैले अन्य दलको समर्थन जुटाएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राखेका छन् ।
