- गण्डकीमा गाँजाखेतीसम्बन्धी विधेयक प्रमाणीकरण ।
- औषधिजन्य र औद्योगिक प्रयोजनका खेतीले कानुनी मान्यता ।
- पुनःपारित विधेयक प्रदेश प्रमुखबाट स्वीकृत ।
रे समाचार/गण्डकी । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बन्धित विधेयक प्रमाणीकरण गरेसँगै यस्तो खेतीले कानुनी मान्यता पाएको हो ।
प्रदेशसभाबाट गत असार २५ गते पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश प्रमुखले साउन ८ गते सन्देशसहित पुनःविचारका लागि प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो ।

प्रदेशसभाले गत शुक्रबार उक्त विधेयक पुनःपारित गरी सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार प्रदेश प्रमुख भट्टले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाएको छ ।
