- सुनसरी, सिरहा, धनुषा र पर्साका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण ।
- निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग ।
- सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई अपिल ।
रे समाचार/ काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
संसदीय दलको आज बसेको बैठकले घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने खालका घटना दुःखद भएको जनाएको छ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभयो।
कांग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
बैठकले नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ पारित गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले स्वीकृत गरेको छ।
त्यसैगरी बैठकले कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवङ्गत व्यक्तित्वहरूप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
