RayNewsDaily
महँगीदेखि ग्यास अभावसम्मका विषयमा सरकारको ध्यानाकर्षण
  • महँगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आग्रह ।
  • ग्यास अभाव र विषादीयुक्त खाद्यवस्तुप्रति चिन्ता ।
  • दलित विभेद, सुस्ता सीमा विवाद र जनस्वास्थ्यका विषय पनि उठे ।

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, खाना पकाउने एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सुस्ता सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताउनुभयो । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव, खाद्यवस्तुको मूल्यवृद्धि र विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको विषय उठाउनुभयो ।

सांसद पदमबहादुर परियारले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताउनुभयो । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गर्नुभयो । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update