RayNewsDaily
मधेश घटनाबारे अफवाह नफैलाउन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह
  • हिंसात्मक घटनालाई सरकारले गम्भीर रूपमा लिएको दाबी ।
  • अपुष्ट र भ्रामक सामग्री नफैलाउन सबैमा आग्रह ।
  • शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न आह्वान ।

रे समाचार/काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मधेशमा भएका केही हिंसात्मक घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना सम्प्रेषण गर्न सबैमा आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै मन्त्री तिमिल्सिनाले घटनाबारे केही सामाजिक सञ्जाल, सञ्चारमाध्यम र अन्य माध्यमबाट प्रसारित भइरहेका संवेदनशील सामग्रीले परिस्थिति थप जटिल बनाउन सक्ने र हिंसा भड्काउने जोखिम बढाएको उल्लेख गर्नुभएको छ ।

उहाँले सम्पूर्ण सञ्चारमाध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति तथा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण वा साझा नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री तिमिल्सिनाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै असहमतिका विषय संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले जिम्मेवार सञ्चार, संयमित अभिव्यक्ति र आपसी सम्मानमार्फत मात्रै शान्त, सुरक्षित र एकताबद्ध समाज निर्माण गर्न सकिने भन्दै सबै पक्षलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update