RayNewsDaily
सुनसरी घटनापछि सुरक्षा परिषद् सक्रिय
सुनसरी घटनालगायत देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्दै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।
  • सुनसरी घटनाको समीक्षा गर्दै सुरक्षा अवस्था मूल्याङ्कन ।
  • सामाजिक सद्भावका लागि सुरक्षा निकायबीच समन्वय सुदृढ गरिने ।
  • विपद् उद्धार र भिड व्यवस्थापन क्षमता बढाउने निर्णय ।

रे समाचार/काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले सुनसरीमा गत साउन १० गते भएको घटनाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित पक्षबीच समन्वय सुदृढ गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।

बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ हुने गरी सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने तथा विपद्का घटनामा खोज, उद्धार र राहतका काम समयमै सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि छलफल गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको बताउनुभयो । उहाँका अनुसार उक्त अवस्था दिगो बनाउन स्थानीय तहमा संवाद र समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।

बैठकमा सम्भावित सङ्कट र भिड व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायको क्षमता अभिवृद्धि, आवश्यक स्रोत-साधनको व्यवस्थापन तथा तालिमलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्री खनालले बताउनुभयो ।

बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा प्रधान सेनापतिलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update