RayNewsDaily
सुनसरी घटनालाई राजनीतिक रंग नदिन सांसदहरूको आग्रह
  • सुनसरी घटनामा सामाजिक सद्भाव कायम राख्न आग्रह ।
  • नारायणी अस्पताल घटनाका दोषीमाथि कारबाहीको माग ।
  • बाढी, पहिरो र जनजीविकाका समस्या पनि सदनमा उठाइयो ।

रे समाचार/काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएको घटनालाई सामाजिक सद्भाव र एकतामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

सांसद समिना मियाँले सुनसरी घटनालाई राजनीतिक रंग नदिन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो । सांसद रेखाकुमारी यादव, प्रमिलाकुमारी गच्छदार र बलावती शर्माले पनि सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

सांसद बुद्धिप्रसाद पन्तले गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभयो ।

बैठकमा प्राकृतिक विपद्का विषय पनि उठ्यो । सांसद भूमिका लिम्बू सुब्बाले गत जेठ ८ गतेको अविरल वर्षाले पाँचथरमा पुर्‍याएको क्षतिको तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद नरेन्द्रकुमार केरुङले बाढीले क्षति पुर्‍याएको पाँचथरको पुल पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्काल बेलिब्रिज निर्माण गर्न माग गर्नुभयो । सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको चैनपुर नगरपालिका-४ ओरिङ्गा टोलमा पहिरोका कारण खानेपानी सेवा अवरुद्ध भएको र अलैँची खेती नष्ट भएकाले तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नीता घतानीले माइतीघर मण्डलामा धर्नामा बसेकी दीपा नेपालीले उठाएका माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सांसद विश्वराज पोखरेलले मलेसियामा हत्या गरिएकी ओखलढुङ्गाकी कोपिला दुलालको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद गणेश कार्कीले लोकसेवा आयोगका परीक्षा रोकिएको भन्ने हल्ला मात्रै फैलाइएको दाबी गर्दै आवश्यकताअनुसार परीक्षा सञ्चालनमा रोक नलगाइएको स्पष्ट पार्नुभयो ।

यस्तै सांसद सुलभ खरेलले सुकुमवासी व्यवस्थापनको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । सांसद रमेश मल्लले भारतमा हराइरहेका नेपालीको खोजी गरी स्वदेश फर्काउने पहल गर्न सरकारसँग माग गर्नुभयो । सांसद यज्ञमणि न्यौपानेले सहिष्णु राजनीतिक संस्कृतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद रीमा विश्वकर्माले बर्दियामा ८२ सुकुमवासी परिवारले लालपुर्जा प्राप्त गरेको उल्लेख गर्दै भूमिहीनको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update