- मुख्यमन्त्री मङ्गलबहादुर शाहीद्वारा प्रदेश प्रमुखसमक्ष शपथ ग्रहण ।
- वीरेन्द्रनगरमा आयोजित समारोहमा उच्च पदस्थ अधिकारीको सहभागिता ।
- एमालेको समर्थनमा नियुक्त शाहीले सम्हाल्नुभयो कार्यभार ।
रे समाचार/कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री शाहीले शपथ लिनुभएको हो ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
शपथ समारोहमा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीहरू यामलाल कँडेल, जीवनबहादुर शाही र राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभा सदस्यहरू, प्रदेशका प्रमुख सचिव, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
नेकपा (एमाले)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहीले आजै पदभार ग्रहण गर्नुभएको छ ।
