RayNewsDaily
सर्वदलीय बैठकको अपिल : सामाजिक सद्भाव र शान्ति कायम राख्न संयम अपनाऔँ
सिंहदरबारमा मंगलबार आयोजित सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरू । तस्बिर : रासस ।

• सुनसरीलगायतका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग ।
• सामाजिक सद्भाव खल्बल्याउने गतिविधि र अफवाहबाट टाढा रहन सबैलाई अपिल ।
• प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय र सर्वपक्षीय संवाद अघि बढाइने ।

रे समाचार/काठमाडौँ । सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रमबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न सबै पक्षलाई अपिल गरेको छ । बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएकाले सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि वा उत्तेजनामा नलाग्न आमनागरिकलाई आग्रह गरेको छ । आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन पनि बैठकले अपिल गरेको छ ।

बैठकले लोकतन्त्रमा जस्तोसुकै असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ । सामाजिक सद्भाव र दिगो शान्ति कायम राख्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आ-आफ्ना पार्टीका विभिन्न तहका समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

संवादलाई स्थानीय तहसम्म पुर्‍याई नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न तथा स्थानीय धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई सहभागी गराएर शान्ति सुव्यवस्था कायम गर्न बैठकले आग्रह गरेको छ । यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूले आवश्यक पहलकदमी, निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थिति थप जटिल बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ । आमसञ्चारमाध्यमलाई पनि संयमित, जिम्मेवार र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न बैठकले ध्यानाकर्षण गराएको छ ।

देवानगन्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update