RayNewsDaily
नेपालमा हुने एआइबिडी सम्मेलनमा सञ्चार कानुन र एआईबारे केन्द्रित छलफल हुने
  • नेपालमा हुने एआइबिडीको २४औँ सम्मेलनको तयारीबारे उच्चस्तरीय छलफल ।
  • सञ्चार कानुन सुधार, एआई, डिजिटल रूपान्तरण र सामुदायिक रेडियोका मुद्दामा जोड ।
  • सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणमा उपयोगी हुने सरकारको विश्वास ।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया-प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा आगामी अगष्ट २३ देखि २५ सम्म काठमाडौँमा हुने एआइबिडीको २४औँ सम्मेलनको तयारीसँगै सञ्चार क्षेत्रको विकास, कानुनी सुधार, सामुदायिक रेडियो र डिजिटल रूपान्तरणका विषयमा छलफल भएको हो ।

मन्त्री डा. तिमिल्सिनाले नेपालमा आयोजना हुने सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे गम्भीर बहस हुने तथा सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियालाई आवश्यक पृष्ठपोषण मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै नयाँ प्रविधिअनुकूल कानुन निर्माण र पुराना कानुन संशोधनको काम अघि बढिरहेको बताउनुभयो । सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणमा उपयोगी हुने उहाँको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि र लोकतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चारमाध्यमले नागरिक सहभागिता र उत्तरदायी शासन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।

उहाँले सञ्चार क्षेत्रले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण र खस्कँदो विश्वसनीयताजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नागरिक पत्रकारिता र डिजिटल माध्यमको विस्तारसँगै मुख्यधारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

एआइबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै प्रभावकारी सञ्चारमाध्यमका रूपमा रहेको बताउँदै नेपालको सामुदायिक रेडियो अभियानले गाउँ-गाउँसम्म सूचना पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।

उहाँले मिडिया क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेका बेला रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानवअधिकार तथा समसामयिक सामाजिक मुद्दालाई प्रभावकारी रूपमा उठाइरहेको बताउनुभयो । विपद्का समयमा विश्वसनीय सूचना र पूर्वसूचना प्रवाहमा विद्युतीय सञ्चारमाध्यमको भूमिका अझै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

भेटका क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीसहितका पदाधिकारीले सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने र स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँहरूले डिजिटल सञ्चारको विस्तारसँगै सामुदायिक रेडियोले कानुनी, नीतिगत र प्रशासनिक जटिलता भोगिरहेको भन्दै आवश्यक कानुनी सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

अकोराबका अनुसार आगामी अगष्ट २३ देखि २५ सम्म काठमाडौँमा हुने एआइबिडीको २४औँ सम्मेलनमा एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका नीति निर्माता, सञ्चारविज्ञ, प्रसारण संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ । रासस 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update