RayNewsDaily
सुनसरी घटनापछि प्रजिअसहित सुरक्षा निकायका प्रमुख फिर्ता
  • सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुख फिर्ता ।
  • घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन ।
  • देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु ।

रे समाचार/काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।

गृह मन्त्रालयले प्रजिअ घिमिरेलाई मन्त्रालयमा तानेर उहाँको स्थानमा सङ्खुवासभाका प्रजिअ इश्वरीप्रसाद अर्याललाई खटाएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उहाँको स्थानमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरुवा गरिएको छ । उहाँको स्थानमा त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ । सशस्त्र प्रहरी बल कप्तानगञ्जका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उहाँको ठाउँमा डीएसपी मदन नाथलाई खटाइएको छ ।

गएराति सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन् ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update