- साउने दोस्रो सोमबारमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड ।
- दर्शन व्यवस्थापनका लागि सुरक्षा र सेवामा विशेष तयारी ।
- देशभरका प्रमुख शिवालयमा पनि पूजाआराधनाका लागि श्रद्धालुको घुइँचो ।
रे समाचार/काठमाडौं । साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ । साउने झरीकै बीच बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएपछि दर्शन र पूजाआराधनाका लागि भक्तजनको आगमन सुरु भएको हो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ । पहिलो सोमबारको अनुभवका आधारमा यसपटक दर्शन व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको कोषले जनाएको छ ।
दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी र कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको छ । दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक सेवाको पनि व्यवस्था गरिएको छ ।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिरका चारै ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र सञ्चालन हुनेछ । दर्शनका लागि चार वटा लाइनको व्यवस्था गरिएको भए पनि बिहानसम्म लामो लाइन नलागेको कोषले जनाएको छ ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालय तथा देशभरका शिव मन्दिरमा पनि साउने सोमबारका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
