RayNewsDaily
स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, पार्टीको अन्तिम स्वीकृति अनिवार्य
  • स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य ।
  • नातावाद र परिवारवादभन्दा बाहिरका योग्य व्यक्तिलाई प्राथमिकता ।
  • पारदर्शी, प्रतिस्पर्धात्मक र मितव्ययी प्रक्रिया अपनाइने ।

रे समाचार/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी नयाँ आन्तरिक निर्देशन जारी गरेको छ । राज्यकोषबाट प्राप्त सुविधाको प्रभावकारी, पारदर्शी र मितव्ययी उपयोग सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको पार्टीले जनाएको छ ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनअनुसार स्वकीय सचिव छनोट गर्दा नातावाद र परिवारवादबाट बाहिर रही प्रविधिमैत्री, अनुसन्धानमा दक्ष तथा पार्टीको मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

निर्देशनमा समावेशी सहभागिता सुनिश्चित गर्न, दोहोरो सुविधा लिने वा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्ति गर्न नपाइने व्यवस्था गरिएको छ । साथै छनोट प्रक्रिया प्रतिस्पर्धात्मक बनाउनुपर्ने र नियुक्तिअघि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

पार्टीले आफ्ना सबै सांसदलाई उच्च नैतिक आचरण, पारदर्शिता र जनउत्तरदायित्व कायम राख्न पनि निर्देशन दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update