- नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति र पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता ।
- दुवै पक्षले पर्यटक आदानप्रदान र लगानी प्रवर्द्धनमा जोड दिए ।
- नेपाल-सिचुआन हवाई सम्पर्कले पर्यटन विस्तारमा टेवा पुग्ने विश्वास ।
रे समाचार/काठमाडौं । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति, पर्यटन र आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् । काठमाडौंमा आयोजित चीन (सिचुआन)-नेपाल सांस्कृतिक तथा पर्यटन उद्योग आदानप्रदान सभा मा वक्ताहरूले कला, संस्कृति, पर्यटन र लगानीका क्षेत्रमा सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याए ।
सिचुआन प्रान्तीय संस्कृति तथा पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओले नेपाल र सिचुआनबीच संस्कृति तथा पर्यटनको आदानप्रदानलाई अझ सुदृढ बनाउँदै सहकार्यका नयाँ आयाम विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल हिमशृङ्खला र पदयात्राका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै सिचुआनमा पनि हिमशृङ्खला, पान्डा लगायतका पर्यटकीय आकर्षण रहेकाले दुवै क्षेत्रबीच पर्यटक आवागमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०२५ मा सिचुआनमा एक अर्ब १९ करोड आन्तरिक पर्यटकले भ्रमण गरेको जानकारी पनि उहाँले दिनुभयो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक छवीन्द्र पराजुलीले नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई पर्यटन, संस्कृति र आर्थिक सहकार्यका क्षेत्रमा अझ विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न तथा पर्यटनसहित अन्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा रामकुमार फुयाँलले ऊर्जा, उद्योग, पर्यटन तथा अन्य उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी भित्र्याउनुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
सिचुआन एयरलाइन्सका नेपाल प्रतिनिधि सुन छाङचेउले कम्पनीले नेपालमा गुणस्तरीय सेवा विस्तार गरिरहेको र निकट भविष्यमा एयरबसमार्फत उडान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले एकअर्काका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै भ्रमण आदानप्रदान बढाउनुपर्नेमा जोड दिएका छन् ।
