RayNewsDaily
गणतन्त्रका उपलब्धि जोगाउन प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड
  • गणतन्त्रपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी ।
  • उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड ।
  • वाम–लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्ने धारणा ।

रे समाचार/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक तथा मानवीय विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले गणतन्त्रका उपलब्धिको रक्षाका लागि प्रगतिशील तथा गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रचण्डले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार तथा उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउने तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत वाम-लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update