- ‘हेलो सरकार’मा आउने स्थानीय तहसम्बन्धी गुनासा अब मुख्यसचिवमार्फत सम्बोधन हुने ।
- सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसम्बन्धी गुनासामा विशेष ध्यान दिइने ।
- नागरिकका गुनासा प्रभावकारी रूपमा सुनुवाइ गर्ने उद्देश्यले नयाँ व्यवस्था ।
रे समाचार/काठमाडौं । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासालाई अब मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहको ढिलासुस्ती, ठेक्का-पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासालाई मुख्यसचिवमार्फत सम्बोधन गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र बेथितिलगायतका गुनासाहरू हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न माध्यमबाट प्राप्त भइरहेकाले ती गुनासाहरू नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ ।”
सरकारले नागरिकबाट प्राप्त हुने गुनासालाई व्यवस्थित रूपमा सम्बोधन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।
