काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।
उद्घाटन सत्रमा संयोजक प्रचण्डले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको संयोजक दाहालको स्वकीय सचिवालयले जनाएको छ । श्रीलङ्का भ्रमणका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । रासस
