RayNewsDaily
धरान पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी तीव्र    

धरान (सुनसरी) । प्रत्येक वर्ष साउन महिनामा धरान उपनगरपालिका-१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी तीव्र पारिएको छ ।     
     
साउन महिना भगवान् शिवको विशेष महिना भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने परम्परा छ ।     
     
भक्तजनको हुनसक्ने चापलाई व्यवस्थित र सुरक्षित बनाउन उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारी गरिएको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार मेलालाई लक्षित गरी मन्दिर परिसर, जल चढाउने मार्ग, प्रवेशद्वार तथा आसपासका क्षेत्रको सरसफाइ, सडक मर्मत, खानेपानी, शौचालय,स्वास्थ्य सहायता कक्ष तथा भक्तजनको सहज आवागमनका लागि आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।     
साउनको पहिलो सोमबारदेखि नै भक्तजनको उल्लेखनीय भीड हुने भएकाले पूजाआराधना गर्न आउने भक्तजनको सहजताका लागि सुरक्षा व्यवस्था कडा पारिने छ ।     
     
अध्यक्ष भट्टराइले भन्नुभयो, “अघिल्ला वर्षको तुलनामा यस वर्षको तयारी केही फरक ढङ्गले गरिएको छ । वडा कार्यालय र पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिको समन्वयमा बोलबममा आउने भक्तजनलाई सहज रूपमा पूजा गर्न मन्दिर प्रवेशका लागि दुई वटा प्रवेशद्वारको व्यवस्था गरिएको छ ।”     
     
गर्मीको मौसमलाई मध्यनजर गर्दै लामो समय लाइनमा बस्ने भक्तजनको सहजताका लागि कुलर तथा एसीको व्यवस्था गरिने जानकारी दिइयो । बोलबमका अवसरमा भक्तजनले सप्तकोसीको कोकाहा नदीबाट जल ल्याई पहेँलो वस्त्र धारण गरेर पिण्डेश्वर महादेवमा जल अर्पण गर्ने परम्परा रहिआएको छ ।     
     
यस वर्षको बोलबम मेलामा गत वर्षभन्दा बढी भक्तजन पिण्डेश्वर बाबाधाममा आउने अनुमान गरिएकाले सोही अनुसार सुरक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, यातायात व्यवस्थापन तथा अन्य आधारभूत सेवाको व्यवस्था मिलाइने मेला आयोजना व्यवस्थापन समितिले छ ।     
     
बोलबम मेलाले धार्मिक आस्थासँगै धरानको पर्यटन प्रवर्द्धन तथा स्थानीय व्यापार-व्यवसायलाई समेत टेवा पु¥याउँदै आएको छ । मेला अवधिभर भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन सम्बन्धित सबै निकायको समन्वयमा तयारीलाई अन्तिम रूप दिइएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।     
     
त्यस्तै इटहरी उपमहानगरपालिका-२ स्थित त्रिनेत्र मोक्षधाममा पनि बोलबम मेलाको तयारी अन्तिम चरणमा पुगेको त्रिनेत्र मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा त्रिनेत्र मोक्षधामलाई विकास गर्ने उद्देश्यले गत वर्षदेखि मेलाको आयोजना गर्दै आइएको हो ।     
     
यस वर्षको बोलबम मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । रासस  

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update