काठमाण्डू । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो ।
सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा. राजीव सुब्बा (काठमाण्डू) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ ।
उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ ।
समितिका अनुसार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिनेछ । समितिले उक्त सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । रासस
