धनकुटा । गृहमन्त्री सुधन गुरुङले धनकुटा पुगेर सुरक्षा तथा प्रशासनिक निकायको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुका साथै धार्मिक दर्शन र पारिवारिक भेटघाटसमेत गर्नुभएको हो ।
गृहमन्त्री गुरुङ शनिबार बेलुका धनकुटाको भेडेटार पुग्नुभएको थियो। आइतबार बिहान धनकुटा आउनुभएका उहाँले सबैभन्दा पहिले धनकुटा नगरपालिका-६ स्थित ऐतिहासिक निशान मन्दिरमा पूजा–दर्शन गर्नुभयो ।
त्यसपछि उहाँले जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला कारागार धनकुटाको अनुगमन तथा निरीक्षण गर्दै जिल्लाको शान्ति-सुरक्षा अवस्था, प्रहरीको कार्यसम्पादन तथा सेवा प्रवाहबारे जानकारी लिनुभयो ।
त्यसपश्चात् गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरी नागरिकलाई प्रदान गरिने सेवा, प्रशासनिक कार्यसम्पादन र समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिनुभयो । निरीक्षणका क्रममा उहाँले कुनै सार्वजनिक प्रतिक्रिया भने दिनुभएन ।
अनुगमनपछि गृहमन्त्री गुरुङले धनकुटा नगरपालिका-५ मा पारिवारिक भेटघाट गर्नुभयो। त्यसपछि उहाँ सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभयो। रेडियो नेपाल
