काठमाडौँ । नेपाल र चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘चीन नेपाल अन्वेषण यात्रा’ नामक प्रिमियम सांस्कृतिक-पर्यटन परियोजना औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
आज काठमाडौँमा विशेष पत्रकार सम्मेलनमार्फत परियोजनाको पूर्ण शुभारम्भ गरिएको हो । सि चाङ पर्यटन संस्कृति उद्योग समुह, आइरिस पर्यटन संस्कृति उद्योग समुह र नेपाल पाण्डा इन्टरनेसनल ट्राभलका संयुक्त आयोजना र साउथ एसिया नेटवर्क टेलिभिजन सह-आयोजकमा रहेको कार्यक्रम सम्पन्न भएको थियो ।
औपचारिक रूपमा शुभारम्भ भएको परियोजनाले नियमित चार्टर्ड हवाई सेवा सञ्चालन, उच्चस्तरीय पर्यटन प्याकेज विकास तथा दुई देशबीच दिगो पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा परियोजनाअन्तर्गत हिमालय एयरलाइन्समार्फत सनचन-काठमाडौं नियमित चार्टर्ड उडान सञ्चालन गरिने घोषणा गरिएको छ । आयोजकका अनुसार उक्त उडान गत जुन ५, २०२६ देखि सञ्चालनमा आइसकेको छ । यो वर्षभरी हरेक बिहीबार र शनिबार सञ्चालन हुने उडानमार्फत वार्षिक १८ हजारभन्दा बढी उच्चस्तरीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । यससँगै उडान चीनका नानतोङ, हाङचौ र छिङताओ लगायतका शहरबाट भविष्यमा नियमित चार्टर्ड उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । साथै चाइना सदर्न एयरलाइन्स, सछुवान एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्ससँगको दीर्घकालीन सहकार्यमार्फत पर्याप्त सिट व्यवस्थापन गरिने आयोजकले जनाएको छ । दीर्घकालीन योजनाअनुसार प्रतिमहिना करिब ६ हजार हवाई सिट उपलब्ध गराउँदै आगामी तीनदेखि पाँच वर्षभित्र नेपाल र चीनबीच वार्षिक दुई लाख ५० हजारदेखि चार लाखसम्म पर्यटक आदानप्रदान गर्ने लक्ष्य राखिएको छ ।
-1782649995.jpeg)
आयोजकले यो परियोजना परम्परागत सस्तो प्याकेज पर्यटनभन्दा फरक रहेको जनाएको छ । परियोजनाअन्तर्गत ७ दिन र ६ रातको विशेष पर्यटन प्याकेज तयार गरिएको छ, जसमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई एउटै प्याकेजमा समेटिएको छ । यस प्याकेजमा हिमाली पदयात्रा, विश्व सम्पदा क्षेत्रहरूको अवलोकन, हिमाली ताल क्षेत्रमा स्वास्थ्य तथा विश्राम, सांस्कृतिक अनुभव तथा अन्तरदेशीय अध्ययन भ्रमण जस्ता गतिविधिहरू समावेश गरिएको छ । यसका साथै द्विभाषिक टुर गाइड, व्यवस्थित यातायात, होटल व्यवस्थापन, गुणस्तरीय सेवा तथा नियमनयुक्त पर्यटन सञ्चालनमार्फत नेपालमा उच्चस्तरीय पर्यटन सेवाको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
परियोजनाको प्रारम्भिक चरणमा काठमाडौँ, पोखरा र चितवनलाई मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ । यी तीन क्षेत्रका होटल, यातायात, रेष्टुरेन्ट, स्थानीय पर्यटन व्यवसाय, हस्तकला तथा सांस्कृतिक उद्योगसँग प्रत्यक्ष सहकार्य गर्दै पर्यटकको बसाइ अवधि बढाउने तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने योजना रहेको छ ।
-1782649995.jpeg)
आयोजकका अनुसार परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपालमा ५ सयदेखि १ हजारसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यसबाट होटल व्यवसाय, यातायात, पर्यटन गाइड, रेष्टुरेन्ट, हस्तकला, सांस्कृतिक प्रस्तुति तथा स्थानीय उत्पादनमा आधारित व्यवसायहरूले समेत प्रत्यक्ष लाभ लिने विश्वास गरिएको छ ।
साथै अफ-सिजन पर्यटनलाई सक्रिय बनाउने, पर्यटन सेवाको गुणस्तर अभिवृद्धि गर्ने, विदेशी लगानीको वातावरण थप आकर्षक बनाउने तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय हिमाली पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल र चीनबीचको लामो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

उनीहरूले सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य, नियमित हवाई सम्पर्क, सांस्कृतिक आदानप्रदान तथा पर्यटन उद्योगको संयुक्त विकासमार्फत दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन यो परियोजना महत्वपूर्ण बन्ने धारणा राखेका थिए ।
आयोजकले आगामी दिनमा थप पर्यटन प्याकेज विकास, नयाँ गन्तव्य प्रवद्र्धन तथा नेपाल-चीनबीच जनस्तरको सम्बन्ध विस्तारमा समेत परियोजनाले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
-1782649995.jpeg)
