काठमाण्डू । नायब बहादुर शाहको २७०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
बडामहाराजधिराज पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म वि.सं. १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो । भतिजा रणबहादुर शाहको नायब भएर बहादुर शाहले नेपालको राज्य सञ्चालन र एकीकरण अभियानलाई अघि बढाउनुभएको थियो । उहाँको नायबीकाल विसं १८४२ देखि १८५१ सम्म पश्चिममा कुमाउ र गढवालसम्म नेपालको सीमा पुगेको थियो ।
बहादुर शाहले नेपालको एकीकरणमा गरेको योगदानको सम्मानमा प्रत्येक वर्ष असार ६ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ । यस अवसरमा आज योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका-७ स्थित दक्षिणढोकामा विशेष कार्यक्रम आयोजना गरेको छ । रासस
