काठमाण्डू । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको छ ।
सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराउनुभयो ।
सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो । दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जारी राखे पनि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिनुभएको थियो । रासस
