रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज यूनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । एशियन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, साहस ऊर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।
