रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबित्री भएको छ ।
आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.१९ प्रतिशतले बढेको छ । यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाइमूल्य करिब साढे ११ प्रतिशतले बढेको छ भने दोल्ती पावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको साढे १७ करोड रुपैयाँभन्दा बढीकाो शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले वृद्धि भएको छ ।
