रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.३६ अंकले वृद्धि भई २८३८.४० विन्दुमा पुगेको छ । नेप्से सामान्य अंक सकारात्मक रहे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ६ प्रतिशतले वृद्धि भएको छ । एशियन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, सोलु हाइड्रोपावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ । आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
