रे समाचार/काठमाडौं । २०८३ को पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३३.२७ अंक बढेर २८६६.८७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, शिखर पावर डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने सोलु हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य भने आज साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ४० करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशतले वृद्धि भएको छ ।
