RayNewsDaily
पटक–पटक सोचेर मतदान गरौं–ताकि पछुताउनु नपरोस्

  रमेश हतुवाली/रे सम्पादकीय ।

प्रतिनिधि सभाको निर्वाचन आज हुँदैछ । सामान्य अवस्थामा २०८४ सालमा हुने नियमित निर्वाचनभन्दा फरक, मुलुकमा उत्पन्न गम्भीर राजनीतिक तथा संवैधानिक संकटका कारण यो निर्वाचनको घोषणा गरिएको हो । गत भदौ २३ र २४ गते देशभरि उठेको “जेन जी आन्दोलन” ले शासन, सुशासन र जवाफदेहिताको प्रश्नलाई तीव्र बनायो । ती आन्दोलनमा सहभागी निर्देशित र होनहार विद्यार्थी तथा युवाहरूले भ्रष्टाचारको अन्त्य, पारदर्शिता, अवसरको समानता र समृद्ध नेपाल निर्माणको माग गरेका थिए । तर विडम्बना, आजसम्म ती मागहरू ठोस रूपमा सम्बोधन हुने संकेत देखिएको छैन ।


यथार्थ यही हो-जेन जी आन्दोलनको मर्म प्रतिनिधि सभाको निर्वाचन मात्र थिएन; त्यो आन्दोलन सुशासन र नैतिक पुनर्जागरणको आह्वान थियो । तर अहिले राजनीतिक दलहरू र तिनका नेताहरू “कसले कति सीट ल्याएर सरकार बनाउने?” भन्ने अंक गणितमै व्यस्त देखिन्छन् । देश र जनताले खोजेको उत्तर त्यो होइन । देशले खोजेको कुरा हो-राजनीतिक स्थायित्व, शान्ति, सुशासन, स्वाभिमान र समृद्धिको स्पष्ट मार्गचित्र ।


यस कठिन मोडमा हामीसँग एउटा मात्र सशक्त विकल्प छ-देशभक्त, कर्मठ, विवेकशील, स्वाभिमानी, निष्ठावान र समर्पित उम्मेदवारलाई अमूल्य मत दिने । मतदान केवल औपचारिक प्रक्रिया होइन; त्यो राष्ट्रको भविष्य निर्धारण गर्ने गम्भीर निर्णय हो । हामीले दिने एउटा मत सानो देखिए पनि त्यसले मुलुकको भाग्य र दिशा तय गर्न सक्छ । त्यसैले कसैको उक्साहट, स्वार्थ वा लहलहैमा लागेर मतको दुरुपयोग गर्नु भविष्यसँग खेलवाड गर्नु हो ।


पछिल्ला वर्षहरूको अनुभव हाम्रा सामु छ । राम्रो नेपाल बनाउने कल्पनामा हामीले रोजेका प्रतिनिधिहरूले पुरानो नेपालभन्दा पनि कमजोर, दिशाहीन र असमानताले ग्रस्त नेपाल बनाइदिए भन्ने आरोप सर्वत्र सुनिन्छ । लाखौं युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिन बाध्य भए । राजनीतिलाई केही सीमित परिवारको बिर्तामा रूपान्तरण गर्ने प्रवृत्ति बढ्यो । भ्रष्टाचार केवल सत्ताधारीहरूको व्यक्तिगत दोषमा सीमित रहेन; त्यो संरचनागत संस्कृतिका रूपमा फैलियो । करको भारी जनताको काँधमा थपिँदै गयो, तर सेवाको गुणस्तर उही रह्यो ।


राष्ट्रको स्वाभिमान नै दाउमा लागेको अनुभूति जनमानसमा गहिरिँदै गयो । गौरवशाली इतिहास, स्वाधीनता र पहिचान जोगाउने सवालमा पनि राजनीतिक इच्छाशक्ति कमजोर देखियो । राष्ट्रिय धरोहरहरू-सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन तथा सयौं सार्वजनिक र निजी संरचनाहरू-विभिन्न आन्दोलन, हिंसा वा लापरवाहीका कारण क्षतिग्रस्त भए । दर्जनौं आमाका काख रित्याए, दर्जनौं बाबुआमालाई सन्तानविहीन बनाइयो । कलिला बालबालिका, सुरक्षाकर्मी र निर्दोष नागरिक हिंसाको सिकार भए । यस्ता कल्पनासमेत गर्न नसकिने घटनाक्रमले राष्ट्रको आत्मालाई घाइते बनायो ।

यही पीडादायी स्मृतिले आजको दिनलाई झन् गम्भीर बनाएको छ । हामीले प्रश्न गर्नैपर्छ-अब यस्तो दिन फेरि नआओस् भन्नका लागि हामी के गर्न सक्छौं ? यसको पहिलो उत्तर हो-विवेकपूर्ण मतदान ।
मतदान गर्नु अघि पटक–पटक सोचौंः
ड्ड    यो देशको रक्षा कसले गर्न सक्छ ?
ड्ड    राष्ट्रिय स्वाभिमान कसले जोगाउन सक्छ ?
ड्ड    समृद्धिको बीउ कसले रोप्न सक्छ ?
ड्ड    निराश युवाको सपना कसले फर्काउन सक्छ ?
ड्ड    असहाय बनेका आमा–बुबा, दिदीबहिनी र सन्तानको मुहारमा मुस्कान कसले फुलाउन सक्छ ?

उम्मेदवारको मूल्याङ्कन गर्दा दलको झण्डा मात्र होइन, व्यक्तित्व, कार्यशैली, विगतको आचरण, सार्वजनिक जीवनमा देखाएको पारदर्शिता, भ्रष्टाचारप्रतिको दृष्टिकोण र राष्ट्रिय मुद्दामा देखाएको स्पष्ट अडानलाई हेर्नुपर्छ । देशले अहिले यथास्थितिवाद र सुधारवादको बहसभन्दा माथि उठेर नीतिगत स्पष्टता र नैतिक साहस खोजेको छ ।

यथास्थितिवादले स्थायित्वको नाममा अकर्मण्यतालाई ढाक्छ भने सुधारवादले परिवर्तनको नाममा अस्थिरता निम्त्याउन सक्छ-यदि त्यो सुधार सुसंगत र जिम्मेवार नहोला भने । त्यसैले विवेकशील मतदाता बन्नु आजको आवश्यकता हो ।

हामीले सम्झनुपर्छ-लोकतन्त्र केवल पाँच वर्षमा एकपटक हुने मतदान होइन; त्यो निरन्तर सचेत नागरिकताको अभ्यास हो । तर मतदानको क्षण भने लोकतन्त्रको सबैभन्दा निर्णायक बिन्दु हो । त्यस क्षणमा गरिएको सानो भूलले पाँच वर्षको पीडा दिन सक्छ, जबकि सानो विवेकले पाँच वर्षको उज्यालो भविष्य सुनिश्चित गर्न सक्छ ।
राजनीतिक अस्थिरता मुलुकको सबैभन्दा ठूलो शत्रु बनेको छ । सरकार परिवर्तनको शृंखला, सत्ता गठबन्धनको गणित, पद र प्रतिष्ठाको सौदाबाजीले नीति निरन्तरतामा बाधा पुर्याोएको छ । विकासका दीर्घकालीन योजना अधुरै रहन्छन् । लगानीकर्तामा विश्वासको संकट पैदा हुन्छ । युवा पुस्ता निराश बन्छ ।
त्यसैले यस निर्वाचनको मुख्य ध्येय हुनुपर्छ–राजनीतिक स्थायित्व । तर स्थायित्व मात्र पर्याप्त छैन; त्यो स्थायित्व सुशासन र पारदर्शितासँग जोडिएको हुनुपर्छ । अन्यथा स्थायित्वको नाममा निरंकुशता वा भ्रष्टाचार संस्थागत हुन सक्छ ।

हामीले अब भावनामा होइन, तथ्यमा आधारित निर्णय गर्नुपर्छ । जात, क्षेत्र, भाषा वा क्षणिक नाराले प्रभावित भएर होइन, नीति, कार्यक्रम र व्यक्तित्वको आधारमा मतदान गर्नुपर्छ । सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र प्रायोजित प्रचारबाट सजग रहनुपर्छ ।

युवा पुस्ताले विशेष जिम्मेवारी लिनुपर्छ । जेन जी आन्दोलनले देखाएको ऊर्जा र साहस केवल सडकसम्म सीमित रहनु हुँदैन; त्यो मतपेटिकासम्म पुग्नुपर्छ । परिवर्तनको माग गर्ने युवाले परिवर्तनकारी मत पनि दिनुपर्छ ।

हामीले भोट दिँदा एउटा दल वा व्यक्तिलाई जिताइरहेका हुँदैनौं; हामी राष्ट्रको भविष्यको दिशालाई जिताइरहेका हुन्छौं । त्यसैले यस निर्वाचनमा देशले जित्नुपर्छ, जनताले जित्नुपर्छ । देशको स्वाभिमान दाउमा राख्ने र राख्न खोज्ने कपटी र दुष्ट प्रवृत्तिले हार्नुपर्छ ।

हाम्रो मत केवल कागजको टुक्रामा छापिएको चिन्ह होइन; त्यो हाम्रो आशा, अपेक्षा र जिम्मेवारीको प्रतीक हो । यसलाई सस्तो नबनाऔं । कसैको लोभ, डर, धम्की वा व्यक्तिगत सम्बन्धका कारण मतको अपव्यय नगरौं ।

हामीले चाहेको नेपाल कस्तो हो ?
– जहाँ अवसरको समानता होस् ।
– जहाँ श्रमको सम्मान होस् ।
– जहाँ भ्रष्टाचारलाई शून्य सहनशीलताका साथ व्यवहार गरियोस् ।
– जहाँ राष्ट्रिय स्वाभिमान अक्षुण्ण रहोस् ।
– जहाँ युवाले आफ्नो भविष्य आफ्नै माटोमा देखून् ।
यस्तो नेपाल बनाउन पहिलो पाइला आजको मतदान हो ।

अन्ततः, लोकतन्त्रको सौन्दर्य नै यही हो-जनताले चाहेको परिवर्तन सम्भव छ, यदि जनता स्वयं सचेत छन् भने । हामी आफैंले चुनेका प्रतिनिधिहरूले काम नगरे भने दोष अरूलाई दिएर मात्र हुँदैन; हामीले आफ्नो निर्णयको समीक्षा गर्नुपर्छ ।

आज मतदान केन्द्र जाँदा इतिहासको त्यो पीडा सम्झौं जसले राष्ट्रलाई घाइते बनायो। ती आमाका आँसु सम्झौं जसका काख रित्याइए । ती युवाको पीडा सम्झौं जो रोजगारीको खोजीमा परदेशिए । अनि आफ्नो सन्तानको भविष्य सम्झौं, जसले सुरक्षित, समृद्ध र स्वाभिमानी नेपाल चाहन्छ ।
विवेकशील बनौं । जिम्मेवार बनौं । देशप्रति इमानदार बनौं ।

कसैको लहलहैमा होइन, पटक–पटक सोचेर मतदान गरौं–ताकि पछुताउनु नपरोस् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update