काठमाण्डू । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ ।
दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षिणा स्वरुप दिइएको संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिनुभयो । संस्थानले दिएको दक्षिणाको आधा कोषले पनि ती साधु सन्तलाई दिएर बिदाइ गरेको छ । कोषले रु ११ लाख २५ हजार दक्षिणा स्वरुप नागा बाबासहितका साधुसन्तलाई दिएको जनाइएको छ ।
मङ्गलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिनुभयो ।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी आएको अनुमान गरिए पनि पहिलो चरणमा आज दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकी र रहेका साधुसन्तलाई पनि बिदाइ गरिने जनाइएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रही आएको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताउनुभयो ।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने प्रचलन छ । आज नागा बाबासहितका साधु सन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको संस्थानले जनाएको छ । रासस
