काठमाण्डू । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका विभिन्न कार्यक्रमसहित नेपालमा पनि आज विश्व सिमसार दिवस मनाइँदै छ ।
प्रत्येक वर्ष ‘फेब्रुअरी २ तारिख’मा विश्वभर मनाइने यस दिवसले जलवायु परिवर्तनकाका कारण प्रभावित सिमसार क्षेत्रको संरक्षण र संवद्र्धनमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । यस वर्ष तय गरिएको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पदर्छन् । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसको जीवनयापनका लागि अत्याआवश्यक वस्तुको सुनिश्चित गर्दछ ।
सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरेको छ । नेपालमा पछिल्लो पटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सङ्कुचित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।
यसै सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय अव्यवस्थित रुपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, प्रदूषण र मानव बस्तीका कारण सिर्जित विविध समस्यासहित उद्योग–कलकारखानाबाट निस्कने फोहरमैला सोझै नदी तथा सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिका कारण सिमसार क्षेत्रका लागि चुनौती थपिएकोे बताउनुभयो ।
अतिक्रमण र अत्यधिक दोहनको चुनौती
त्यस्तै जलवायु परिवर्तनका कारण अनपेक्षित रुपमा अत्यधिक वर्षा भई बाढीपहिरोसहित विकराल समस्या सिर्जना हुनु र लामो समयसम्म वर्षाको अभावमा जमिन सुक्खा हुनु, गरिबी र बेरोजगारीका कारण सिमसार क्षेत्र अतिक्रमण हुनु, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट पनि सिमसारका पछिल्ला प्रमुख चुनौती बनेका उहाँले बताउनुभयो ।
विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन ‘फेब्रुअरी २ तारिख’लाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
रामसार महासन्धिले अन्तरराष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने व्यवस्था गरेको छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या १७२ पुगेको छ । साथै दुई हजार ४२२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।
जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकुञ्ज तथा विभागले यस दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको ‘होर्डिङ बोर्ड’मा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो तहबाट विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिएको विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।
सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा सिमसार संरक्षणका लागि विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरी निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तुको बासस्थान यही क्षेत्रमा रहेको पाइन्छ ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान भएको उल्लेख गर्दै महानिर्देशक डा पौडेलले भन्नुभयो, “नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये सिमसार क्षेत्रमा १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएकामध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।”
विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तरराष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।
सिमसार क्षेत्र संरक्षणका लागि कानुनी र नीतिगत व्यवस्था
वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन मन्त्रालयका प्रवक्ता विशाल घिमिरेले जानकारी दिनुभयो । सिमसार क्षेत्रको दिगो उपयोगबाट तीनै तहका सरकारको सहभागितामा स्थानीयले पाउने लाभको व्यवस्थापन गर्दै आएको बताउनँदै उहाँले भन्नुभयो, “सिमसारको संरक्षणका लागि स्थानीयमा जनचेतना र जागरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्, यसको महत्व र संरक्षण बारेमा नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।”
सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालको संविधान, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजनालगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सरकारले प्रतिबद्धता जनाउँदै आएको छ ।
सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धिकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई ‘प्रकृतिको मिर्गौला’ पनि भन्ने गरिन्छ । सिमसारले वस्तु र सेवा प्रदान गर्नाका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ । रासस
