म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ ।
जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।
नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताउनुभयो ।
“प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्”, उहाँले भन्नुभयो, “माघेसङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ ।”
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।
चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघेसङ्क्रान्तिमा माइतीघर जान्छन । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताउनुभयो ।
चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उहाँले बताउनुभयो । माघेसङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघेसङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघेसङ्क्रान्ति मेलामा आउने गर्दथे ।
बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघेसङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ ।”
समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ ।
हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदै आएको छ । सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघेसङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ ।
बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । रासस
