काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । काम सक्ने सम्झौताअनुसार बाँकी तीन हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार कार्य अधुरो अवस्थामा रहेको छ ।
तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल आठ किलोमिटर सडकको विस्तार कार्य २०७९ मङ्सिर २७ गते सम्झौता भएअनुसार अब २१ दिनको समयसीमा रहेको हो । उक्त सडकखण्ड विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो ।
करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । यही मङ्सिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिनेछ । उक्त सडकखण्ड विस्तारको ठेक्का म्याद सकिनै लाग्दा भने केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ । केही स्थानमा अवरोधका कारण काम रोकिएको महिनौँ भइसकेको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छ भने हाल बनेपाको पुलबजार-जनागाल क्षेत्रमा कालेपत्र गर्ने काम भइरहेको छ ।
जनागाल, बाँसघारी-बुडोल, साँगा-भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलबजार-जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाई ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ बायाँ लेनको कालोपत्रको तयारी भइरहेको छ ।
यस्तै हाल बाँसघारी-बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको छ । साँगा-भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको छ ।
पछिल्लो समय राजमार्गको पहिलो खण्डको विभिन्न स्थानमा विस्तार कार्यलाई तीव्रता दिइए पनि बनेपा-पुलबजार क्षेत्रमा भने करिब दश महिनादेखि करिब २०० मिटर सडकखण्डको काममा भने स्थानीयद्वारा सेन्टर लाइनको विषयलाई लिएर अवरोध पुर्याइएको छ । अवरोधबारे नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन धेरै पटक छलफल भए पनि कुनै समाधनको विकल्प ननिस्किएपछि विवादित क्षेत्र छाडेर अन्यत्रको कामलाई तीव्रता दिएको आयोजनाका इन्जिनियर खनालले बताउनुभयो ।
आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा-धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक-साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायक-साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा छ ।
सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ ।
“दुवै खण्डमा विस्तार कार्य सक्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ”, प्रमुख महतोले भन्नुभयो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ६ लेनमा विस्तार थालिएको हो । रासस
