RayNewsDaily
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै   

काठमाण्डू । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको वि.सं. २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु-याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update