हेमन्त केसी/काँक्रेविहार (सुर्खेत) । गत मङ्गलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ ।
कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका कर्मचारीलाई समस्या भएको हो ।
उच्च भाग भएका कारण सधैँ चिसो नै मौसम हुने गर्दछ । छ महिना माथिल्लो भाग र छ महिना सुलिगाडमा बस्दै आएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले यो पटक छिटो हिमपात भएको बताएको छ । हिमपात भए पनि पर्यटक माथिल्लो भागमा रहेका कारण उद्धार तथा अन्य सुरक्षाका काम हुने भएकाले फोक्सुण्डो ताल नजिकै रहेको निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले जानकारी दिएको छ ।
निकुञ्ज रहेका क्षेत्रमा अग्ला हिमाल हुनुका साथै १२ महिना हिउँले ढाक्ने क्षेत्रसमेत रहेका छन् । चिसो तथा हिमपातले गर्दा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । निकुञ्जभित्र २५ वटा गाउँ रहेका रहेका छन् । देशकै सबैभन्दा ठूलो यो निकुञ्जमा सबैभन्दा बढी हिउँ चितुवा पाइन्छ । निकुञ्जलेसमेत चिसो तथा हिमपातको समयमा निकुञ्जमा रहेका वन्यजन्तुको सुरक्षाका लागि विशेष पहल गर्दै आएको छ । चिसो मौसममा उपल्लो डोल्पाका अधिकांश स्थानीयवासी तल्लो क्षेत्रतीर चिसो छल्ने आउने गरेका छन् ।
चिसोमा फाइदा उठाएर चोरी निकासी गर्ने कार्यलाई रोक्न विशेष संयन्त्र परिचालन गरिएको निकुञ्जका निमित्त प्रमुख किशोरकुमार महतले जानकारी दिनुभयो । चिसोको समयमा पलममा रहेको पोष्टबाट रिग्मो, सन्दुवालगायत ठाउँमा सुरक्षा गस्ती हुने गरेर व्यवस्थापन गरिएको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र आर्यालले जानकारी दिनुभयो । उता शे फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष निमा लामाले निकुञ्जको सुरक्षाका नाममा कहिलेकाहीँ मात्र माथिल्लो क्षेत्रमा आउने गरेको आरोप लगाउनुभयो । “निकुञ्जको सुरक्षा स्थानीय तथा प्रकृति आफैँले गरेको छ”, उहाँले भन्नुभयो, “वर्षमा दुई पटक अनुहार देखाएर निकुञ्जको सुरक्षा हुन सक्दैन । मैले निकुञ्जको टिमलाई यही सल्लाह दिएको छु । पोष्टहरु सबै खाली रहेका छन् । कार्यालय मात्र राखेर कर्मचारीविहीन बनाएर के काम ?”
समुद्र सतहबाट दुई हजार २५० देखि छ हजार ८८३ मिटर उचाइमा पर्ने उक्त निकुञ्ज विश्वमै हिउँ चितुवा धेरै घनत्व भएको निकुञ्ज मानिन्छ । निकुञ्जका संरक्षण अधिकृत आर्यालका अनुसार आजभोलि तस्करी कम भएको छ । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो, तोइजुम पोष्टसमेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन् । त्यो समयमा मान्छेको चहलपहलसमेत शून्य हुने भएकाले पनि चोरी तस्करीको क्रम कम हुने उहाँको दाबी रहेको छ । यहाँ ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमतिविना नै सिधै हेलिकप्टरहरु निकुञ्जको मुख्य भू-भागमा बसाल्ने गर्दछन् । यस्तो कार्यले वन्यजन्तु तथा जडीबुटीसमेत तस्करी हुनसक्ने खतरा बढिरहेको स्थानीयवासीको आरोप छ ।
कोर एरिया बाहिर निकुञ्जकोे मुख्य कार्यालय छ । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तर पनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालय रहेका छन् । संरक्षित वन्यजन्तु, जडीबुटी तथा प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा दूरीका हिसाबमा निकुञ्ज र सेनादेखि टाढा रहेका छन् ।
यस्तो बाध्यताले पनि विविधताको संरक्षण सोचेअनुरुप गर्न नसकिएको स्थानीयवासीको भनाइ रहेको छ । द्वन्द्वकालमा निकुञ्जको मुख्य कार्यालय साविकको फोक्सुन्डो गाविसको ‘पलम’मा थियो । कार्यालय सञ्चालका लागि चार वटा आधुनिक भवन बनाइएका थिए । निकुञ्जको मुख्य कार्यालय नै मध्यविन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यवस्था कडाइ गर्न सहज भएको थियो । हत्तपत्त तस्करको निशाना पनि पर्ने सक्दैनथ्यो । जैविक विविधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । द्वन्द्वकालमा कार्यालय भत्किएपछि तीन वर्ष विस्थापित अवस्थामा निकुञ्जको कामकाज भयो । त्यसपछि मुख्य कार्यालय नै सुलिगाडमा सरेको थियो । सुलिगाडमा निकुञ्जको मुख्य कार्यालय तथा सेनाको गुल्म छ । निकुञ्जको सबै भू-भाग उत्तरीक्षेत्रमा पर्ने र मुख्य कार्यालय नै कोर एरिया बाहिर पर्ने भएकाले सुरक्षा व्यवस्थामा चुनौती खडा भएको छ ।
डोल्पालीको आर्यआर्जनसँग जोडिएको यार्सागुम्बा सङ्कलनकर्ताका विभिन्न क्रियाकलापले अस्तित्व खतरामा परेको कार्यालय बताउँछ । जबसम्म यार्सागुम्बा सङ्कलन कम हुँदैन तबसम्म आपराधिक चहलखेल बढ्ने निकुञ्जको दाबी छ । निकुञ्जभित्रको मानव आवासका कारण पनि संरक्षण सम्वद्र्धनमा कठिनाइ भएको कार्यालयको ठहर छ । सूचना पार्टी नहुँदा अन्योलमा पर्यटक निकुञ्जसम्म पुग्ने बाटो तथा पुलहरु जीर्ण छन् । जसले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष निकुञ्जमा करोडौँ बजेट आउने गरे पनि संरचना भने जेनतेन छन् ।
बाटोमा विभिन्न स्थानको सूचना दिने सूचनापार्टी नहुँदा पर्यटकसमेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका पत्रकार पेसल आचार्य बताउनुहुन्छ । बारम्बार ठाउँठाउँमा सूचनापार्टी राख्ने गरे पनि यार्सागुम्बा सङ्कलन गर्न गएकाले काटेर दाउराका रुपमा प्रयोग गर्ने गरेको निकुञ्जको भनाइ छ । शे–फोक्सुन्डो ताल, फोक्सुन्डो सुलिगाड झरना, शे गुम्बा, त्रिपुरासुन्दरी मन्दिर यहाँको मुख्य आकर्षण छन् भने हिउँचितुवा, हिमाली भालु, कस्तुरी, नावर दुलर्भ संरक्षित वन्यजन्तु रहेका छन् । यार्सागुम्बा, जटामसी, पाँचऔँले यहाँका बहुमूल्य जडीबुटी हुन् ।
शे फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइने निकुञ्जले जनाएको छ । निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पन्छीहरू, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको निमित्त प्रमुख महतको भनाइ रहेको छ । यहाँ पाइने हिउँचितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको उहाँले जानकारी दिनुभयो ।
छ हजार ८६६ मिटर अग्लो काञ्जीरोवा दक्षिण, छ हजार ५५६ मिटर अग्लो सिकाल्पो खाङ, सात हजार १३९ मिटर अग्लो वेज चुचुरोजस्ता हिमशिखरहरू रहेको निकुञ्जले जनाएको छ । दर्जन बढी हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको निमित्त प्रमुख महतले जानकारी दिनुभयो । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । विविधतायुक्त निकुञ्ज तथा उपल्लो डोल्पा भएका कारण यहाँ पर्यटकहरु सङ्ख्या अत्यधिक हुने गर्दछ । पाँच वर्षको अन्तरालमा १९ हजारभन्दा बढी पर्यटक यहाँ घुम्न आएको निकुञ्जसँग तथ्याङ्क रहेको छ ।
छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएका कारण डोल्पालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । हालसम्म यहाँ सीमासुरक्षाका लागि कुनै पनि व्यवस्था गरिएको छैन । खुला सिमाना भएकाले चोरी ,निकासीको त्रास बढिरहेको छ । वर्षमा एकपटक १५ दिनका लागि हाटबजारका लागि सीमा खुला गरिए पनि औपचारिक जानकारी दिए पनि अधिकांश समय यहाँ नेपालतर्फ कुनै पनि सुरक्षा जाँचचौकी नहुँदा खुला रहने गरेको छ । मरिम यहाँको प्रमुख नाका हो । धेरै अग्ला हिमाल काटेर चीनतर्फ जाने गरिन्छ । उपल्लो डोल्पामा स्थानीयवासीको चीनको तिब्बतसँग रहनसहन तथा भाषा मिल्ने भएकाले आउन जानसमेत सहज रहँदै आएको छ । उपल्लो डोल्पामा रहेको खुला नाकामा सुरक्षा व्यवस्था गरी सुरक्षाको प्रत्यभूति गराउन पटकपटक माग गरिएको भए पनि सुनुवाइ नभएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा तीन पालिका रहेका छन् । रासस
