पाटन (ललितपुर) । ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।
आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजे नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । “यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक-फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ”, उहाँले भन्नुभयो,“यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नाच चलाएको जनविश्वास छ ।”
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहास छ । यसको प्रमुख विशेषता हरेक दिन फरक-फरक कथामा आधारित रहेर देखाउनु हो । अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहास रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष चित्रकारले भन्नुभयो,“यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको बताइन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्याएका पनि इतिहास छ । हाल यसको विशेषता बुझेका कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।”
यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो । “कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उहाँले भन्नुभयो ।
मल्लकालीन समयमा कार्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको जानकारहरू बताउँछन् । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ । “सत्ताइस दिनसम्म नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा उल्लेख छ, तर हाल यसलाई १० दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा बराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भन्नुभयो ।
कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउनुहुन्छ । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष १० दिन देखाइँदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उहाँले भन्नुभयो ।
नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु १० करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको जनाएको छ । रासस
