RayNewsDaily
पत्रकारको कलमदेखि कृषि कर्मसम्म        

विराट न्यौपाने/सुन्दरबजार (लमजुङ) । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ ।     
     
अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुइँकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ । कलम समात्ने हातले कहिले कुटो र कोदालो समातेको छ भने कहिले तरकारी बालीभित्र रहेका झार पतिङ्गर टिप्दै गरेको छ । समाचार लेख्ने दृष्टि अहिले विस्तार भएर माटो चिन्न र पढ्न थालेको छ ।     
     
त्यसो त पत्रकारिता र गाउँको माटोबीच प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ समाचारका कारणले । किसानको सफलता र बजारीकरणमा पत्रकारको कलमले ठूलो काम गर्दछ । नवीनले गरेको कृषि कर्मले कलम र माटोबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर व्यवहारमा उतारेको छ । वर्षौंदेखि उहाँ अरू किसानका सफलताको कथा लेख्ने, अरूका सपना छाप्ने, अरूका उपलब्धि प्रसारण गनुहुन्थ्यो ।     
     
मोफसलको पत्रकारिताले मात्र जीवन धान्न कठिन हुन थाल्यो, यही क्रममा कुइकेलको मनमा एउटा प्रश्न उब्जिन थाल्यो- अरूका कथा लेख्दैछु, तर मेरो आफ्नै कथा कहाँ छ ? यही प्रश्नले उहाँलाई कृषि फार्मतिर डोहोर्‍याएको थियो । २०७५ सालमा उहाँले तीन जना साथीसँग मिलेर देशमै केही गरौं भन्ने सङ्कल्पसहित चार जना युवाले व्यावसायिक कृषि कर्म शुरु गर्ने निर्णय गर्नुभयो र नाम राख्नुभयो मस्र्याङ्दी कृषि फार्म । सबैको उद्देश्य एउटै थियो- गाउँमै बसेर केही उत्पादन गर्ने, आफ्नै जग्गामा नयाँ सम्भावना खोज्ने, त्यसको व्यावसायिक रुपमा बजारीकरण गर्ने ।     
     
स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीमा रहेको करिब १५ रोपनी जग्गामा व्यावसायिक कृषि सुरु गरिएको थियो । प्रारम्भमा सानो प्रयोग मात्र थियो यो फार्म, तर त्यही प्रयोग अहिले गाउँ मात्र नभएर पालिकाकै परिचय बनेको छ । समयको प्रवाहसँगै साथीसँगका बाटाहरू छुट्टिए । आज सबै साथीहरू आफ्ना फरक कामतिर लागेका छन् तर नविन भने अझै त्यही खेतमै कर्मकर्ममा रमाउनुभएको छ । उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, ‘‘साथीहरू गएकाले होइन, सपना बाँकी भएकाले म यहाँ छु ।’’ अहिले फार्मको सम्पूर्ण जिम्मेवारी उहाँ एक्लैले सम्हाल्नु भएको छ, र त्यो जिम्मेवारी उहाँले केवल पेशा भनेर होइन, प्रतिबद्धता लिएर काम गर्दै आउनुभएको छ ।     
     
खेतमा अहिले लोकल कुखुरा, ब्रोइलर कुखुरा, मौसमी बेमौसमी तरकारी र फूल खेती भइरहेका छन् । बिहान फार्ममा पसेपछि उनको संसार नै बदलिन्छ । बोटबोटानी सजीव लाग्छन्, चराचुराको आवाजमा लय हुन्छ, अनि पसिनामा सन्तोष । हाल फार्ममा सात सय ब्रोइलर कुखुरा छन् । उहाँले चाँडै भैँसीपालन पनि थप्ने तयारी गरिरहनुभएको छन्, ताकि दूध, मल र अर्गानिक उत्पादन हुँदै जैविक चक्र एकसाथ सन्तुलित गर्न सकियोस् ।     
     
उहाँको फार्म अहिले पारिवारिक श्रममा आधारित छ । घरका सबै सदस्य यसैमा सक्रिय छन् । दैनिक रूपमा खेत जोत्न, बजारमा सामान पुर्‍याउन, गोलमेल गर्न वा अन्य कामका लागि मानिसहरुले काम पाएका छन् । त्यसैगरी उत्पादन वितरण र बिक्रीमा पनि केही स्थानीय युवाहरू संलग्न छन् ।     
     
नवीनले अहिले पनि सक्रिय पत्रकारिता गरिरहनुभएको छ । जिल्लामा भएका कार्यक्रम, समाचार संकलन लगायतका कार्यक्रममा समेत पुग्नुपर्ने हुँदा कृषिमा भने जति समय दिन नसकेको उहाँ बताउनुहुन्छ । उहाँ पत्रकार महासङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष र पूर्व केन्द्रिय सदस्य हुँदै हाल पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य रहनु भएको छ ।

पत्रकारितामा लामो समय बिताइसक्नुभएका उहाँ भन्नुहुन्छ, “पत्रकारिताबाट मात्र जीवन धान्न गाह्रो छ । पत्रकारितालाई पनि जोगाउँदै, आत्मनिर्भर बन्नका लागि कृषिलाई व्यावसायिक रूपमा अँगालेको हुँ । पत्रकारिता मेरा लागि जिम्मेवारी हो, खेती मेरो आत्मा हो ।” उहाँ भन्नुहुन्छ, “म सधैँ सोच्थें- समाचारले समाज बदल्छ, अब लाग्छ, माटोले पनि बदल्छ ।”     
     
उहाँका लागि समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिता, संघसंस्थाको जिम्मेवारी, खेती र परिवार सबैलाई सन्तुलनमा राख्न सजिलो छैन । तर उहाँले त्यसलाई गुनासोको रूपमा होइन, अवसरको रूपमा लिनुभएको छ । “धेरैले समय चिया पसलमा गफ गर्ने, फेसबुकमा बिताउने, अनावश्यक बसाइमा बिताउँछन्, त्यही समय म खेतमा लगाउँछु,” उहाँ भन्नुहुन्छ ।

करिब रु २० लाखको लगानी भइसकेको उक्त फार्ममा हाल आठ वटा टनेलमा र खुला जमिनमा मौसमी बेमौसमी तरकारी र सयपत्री खेती गरिएको छ । बेसीँशहर–चामे सडकको नजिकै भएकाले लमजुङ र मनाङमा यसको बजार पहुँच छ । यसको अलबा पनि खुदीबजार, भुलभुले बजार, वेसीशहरलगायत स्थानीय बजारसम्म यहाँका उत्पादन सहजै विक्रीवितरण गर्न सकिन्छ ।     
     
बाह्रै महिना फूल उत्पादन गर्ने कुईकेलको फार्ममा यतिखेर तिहारका लागि फूल बिक्री भइरहेको छ । बिहानको घाममा जब ती फूलहरू हल्लिन्छन् वरपरको वातावरण नै सुगन्धले भरिन्छ । कुईकेल भन्न्ुहुन्छ, “कृषि केवल आम्दानी होइन, सौन्दर्य पनि रहेछ । म चाहन्छु, युवा पुस्ताले गाउँको सुन्दरता र सम्भावना देखोस् ।” देशका युवाले विदेश गएर मात्र होइन, आफ्नै माटोमा पसिना बगाएर पनि सफल हुन सक्छन् भन्ने उदाहरण दिन चाहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्म त्यसैको उदाहरण हो । जहाँ युवाको आँट, श्रम र सिर्जनशीलता एकसाथ भेटिन्छ ।     
     
यस कृषि फार्ममा अहिले जैविक प्रणाली अपनाइएको छ । रासायनिक मलको सट्टा गोबर र कम्पोष्ट मल, सिँचाइका लागि ड्रिप प्रणाली, कीरा नियन्त्रणका लागि प्राकृतिक उपायहरू अपनाइन्छ । नवीनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, एउटा सन्देश पनि हो । युवाले परदेश नगएर पनि आफ्नो देशमा केही गर्न सक्छन् । पत्रकारिताले उहाँलाई दृष्टि दियो, कृषिले उत्पादन दियो । जब दृष्टि र कृषि एकअर्कामा मिसिन्छन् अनि सफलता त्यसैको पछिपछि लाग्छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update