RayNewsDaily
आज बडादशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

रे समाचार/काठमाण्डू । नेपालीहरुको महान चाड बडादशैँ अन्तर्गत दशैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिई विजयादशमी मनाइँदै छ । 

टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा(आराधना गरिएकी देवीलाई आज बिहान विसर्जन गरी ११ बजेर ५३ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुन सुकै बेला पनि टीका लगाउन सक्नेछन् ।

टीका लगाउने व्यक्तिपूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोग, व्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

यस वर्ष दशैँ मनाउन झण्डै ११ लाख मानिसहरुले काठमाण्डू उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरु पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

बडादशैंँ आफन्त भेटघाट, पारिवारीक पुनरमिलन, आशिरवाद ग्रहण लगायतका विविध पक्षसँग सम्बन्धि रहेको छ । ज्ञान, शक्ति, सामथ्र्य, धैर्य, सज्जन, सर्वहितकारी जस्ता गुणहरुबाट परिपूर्ण हुनका लागि पनि देवी भगवतीको. प्रसाद र जमरा ग्रहणको नेपाली समाजमा विशिष्ठ धार्मिक तथा साँस्कृतिक मान्यता रहँदैं आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update