RayNewsDaily
गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो   

गोरखा । गोरखा दरबारको दशैंँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैंँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।    
    
 बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दशैंँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दशैंँघरबाट बाजागाजासहितको -याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।    
    
“गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पु¥याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उहाँले भन्नुभयो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादशैंँको सातौँ दिन गोरखा दरबारको दशैंँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।    
    
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाउनुभएको हो । गोरखा दरबारको दशैंँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।  रासस  

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update