RayNewsDaily
बडादशैंको छैठौं दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाण्डू । नेपालीहरुको महान चाड बडादशैंको छैठौं दिन आज शक्तिपीठ, देवीमन्दिर र घरघरका पूजा कोठाहरुमा देवी स्कन्दमाताको पूजा आराधना गरिँदै छ । 

नवरात्रिको पाँचौं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गर्ने प्रचलन रहेको भएता पनि तिथी घटबढका कारण आज छैठौं दिनमा पूजा आराधना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार अर्थात गणेशजीका भाइ कुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।

स्कन्दमाता भवानीको उपासना र आराधना गर्नाले सबै प्रकारको इच्छापूर्ति हुने शास्त्रीय कथन रहेको छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु भक्तजन शक्ति स्वरूपा भगवतीको आराधना गर्ने गर्दछन् ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update