
रे समाचार/काठमाण्डू । बडादशैंको पाँचौ दिन आज पनि कूष्माण्डा देवीको पूजाआजा गरि मनाइँदै छ । तिथी घटबढका कारण आज पनि कूष्माण्डा देवीकै पूजाआराधना गर्नुपर्ने भएको हो ।
नेपालीहरूको महान चाड बडादशैँको पाँचौ दिन आज देशैभरका शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजाकोठाहरूमा देवीभवानी कूष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।
कूष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कूष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरूमा उल्लेख छ ।
कूष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कूष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो । नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरुमा पूजाआराधना र दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लागेको छ ।