
रे समाचार/काठमाडौं । जेनजी पुस्ताले आज वानेश्वर क्षेत्रमा गरेको विरोध प्रदर्शनले उग्र रूप लिएपछि सरकारले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो । कर्फ्यु आदेशपछि पनि स्थिति साम्य हुने नदेखिएपछि बानेश्वर क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
जेनजी पुस्ताले आज राजधानीको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । लाठीचार्ज गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले थप बल प्रयोग गरेको बताएको छ ।
नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको राससले जनाएको छ ।
सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन् । निषेधित क्षेत्रमा पुगेर प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित उनीहरूले तोडफोड गरेका थिए । जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा ढुंगामुढा गरेपछि प्रहरीले प्रदशर्नकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले कैयौं राउन्ड अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनकारीहरु अगाडि बढेका थिए ।
यसैबीच, जेनजीको आन्दोलनका कारण सोमबारको राज्य व्यवस्था समिति बैठक प्रभावित बनेको छ । प्रहरी विधेयकमाथि छलफल भइरहँदा गृहमन्त्री रमेश लेखक बीचमै हिँडेपछि बैठक प्रभावित बनेको हो । गृहमन्त्री हिँडेसँगै सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।
जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् । विराटनगरसँगै सो पुस्ताले बुटवल, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् ।