RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

काठमाडौं । लामो समयपछि शेयर बजारमा उच्च वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको छ ।

आज परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । २७५ स्टकको ९० हजार २४९ पटकको कारोबारमा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, हिमालयन ऊर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शुभम् पावरको शेयरमूल्यय भने आज सर्वाधिक ६.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ । त्यसैगरी निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशत बढेको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update