RayNewsDaily
चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : अमेरिकी अर्थमन्त्री येलेन
अमेरिकी अर्थमन्त्री जेनेट येलेन(बायाँ) र ग्वाङडोङका गभर्नर वाङ वेइझोङ दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउमा रहेको बाईयुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ग्वाङ्डोङ नेताहरूसँग द्विपक्षीय बैठकमा भाग लिँदै । तस्बिर : एएफपी

गान्झाओ, चीन । चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहनुभएका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बताउनुभएको छ ।    
    
एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुग्नुभएको छ ।    
    
भ्रमणका क्रममा  उहाँले आज भन्नुभयो, “चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।”    
    
“चीनको घरेलु माग उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डोर्‍याइरहेको छ ।”    
    
उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ र यसले आपूर्ति शृङ्खलाको अति केन्द्रीकरण गर्न सक्छ, जसले विश्वव्यापी आर्थिक लचिलोपनको लागि जोखिम निम्त्याउन सक्छ ।”    
    
चीनको सुधार र विकासको प्रतीक मानिने ग्वाङझाओ र चीनको आर्थिक वृद्धिलाई गति दिएको ग्ग्वाङझाओका गभर्नरसँगको भेटमा उहाँले अमेरिका ‘स्वस्थ आर्थिक सम्बन्ध’ को लागि प्रतिबद्ध रहेको पनि बताउनुभयो ।    
    
तर, यसका लागि ‘अमेरिकी कामदार र फर्महरूका लागि समान खेल मैदान’ को आवश्यकता पर्दछ अर्थात् चीनमा अमेरिकी लगानीलाई प्रोत्साहन गर्न समानताका आधारमा व्यवहार गर्नुपर्ने र असहमत भएका क्षेत्रहरूमा खुला र प्रत्यक्ष सञ्चारको आवश्यकता हुनुपर्छ । येलेनले भन्नुभयो, “यसमा संयुक्त राज्य अमेरिका र अन्य देशहरू चिन्तित बनाएको चीनको औद्योगिक क्षमताको मुद्दा पनि समावेश छ । यसले विश्वव्यापी ‘समस्या’लाई निम्त्याउन सक्छ ।''     
    
बेइजिङले उद्योगका लागि आफ्नो विशाल राज्य समर्थनको बारेमा चिन्तालाई अस्वीकार गरेको छ, गत महिना ईभीको लागि यसको सब्सिडीमा ईयूको जाँचलाई ‘संरक्षणवाद’ र अन्तर्राष्ट्रिय व्यापारको राजनीतिकरण गर्ने पश्चिमी प्रयासको एक भागको रूपमा निन्दा गरेको थियो ।    
    
अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वच्छ ऊर्जामा घरेलु उत्पादनलाई बढावा दिन जोड दिइरहेका बेला निर्यातको बाढीबारे वासिङ्टनको चिन्ता आएको हो । चीनको अतिरिक्त क्षमताले ती उद्योगहरूको वृद्धिलाई हानि पुर्‍याउन सक्ने नीति निर्माताहरूले चेतावनी दिएका छन् ।    
    
‘अलब्राइट स्टोनब्रिज ग्र्प’का चीनका लागि साझेदार पल ट्रियोलोले भन्नुभयो, “ विशेष गरी निर्वाचन वर्षमा बाइडेन प्रशासन चीन र विद्युतीय सवारी साधनको बारेमा अमेरिकी अटो उद्योगको चिन्ताप्रति धेरै संवेदनशील देखिएको छ ।”    
    
उहाँले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “सम्भवतः प्रशासनले विद्युतीय सवारी साधनमा चीनको अत्यधिक क्षमताका कारण भविष्यमा उत्पन्न हुने समस्यालाई रोक्नका लागि पूर्वतयारीका साथ काम गर्न इच्छुक छ भन्ने देखाउन केही कदम चाल्नेछ ।”    
    
अमेरिकी कार उत्पादन कम्पनीमा यसको असर अझै नदेखिएको तर चीन नीतिको ‘नराम्रो असर’ दिने चेतावनी उहाँले दिनुभएको छ । एएफपी

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update