- इरानविरुद्धको सैन्य अभियान सञ्चालन गर्न जनवरीसम्म पर्याप्त बजेट ।
- कङ्ग्रेसमा डेमोक्रेटको नियन्त्रण भए सैन्य कारबाही प्रभावित हुन सक्ने चेतावनी ।
- इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु सैन्य अभियानको मुख्य उद्देश्य ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताउनुभएको छ । तर, कङ्ग्रेसमा डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उहाँले दिनुभएको छ ।
‘न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी जनवरीसम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गर्नुभएको हो । डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएर प्रशासनको सैन्य उद्देश्य हासिल गर्ने क्षमतामा सीमा लगाउन सक्ने उहाँको भनाइ छ ।
ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु सैन्य अभियानको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । तेहरानमा शासन परिवर्तन आफ्नो प्रमुख लक्ष्य नभएको उल्लेख गर्दै उहाँले कूटनीतिक समाधानलाई प्राथमिकता दिने बताउनुभयो ।
शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताउनुभएको थियो ।
इरानको वरिष्ठ नेतृत्वमाथि भएको आक्रमणलाई महत्त्वपूर्ण घटनाक्रमका रूपमा उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वलाई पहिलेको भन्दा बढी तर्कसङ्गत बताउनुभयो । यद्यपि, इरानको वार्ताप्रतिको विश्वसनीयतामाथि उहाँले प्रश्न उठाउनुभयो । इरानले विगतमा सम्झौता गरेर पछि उल्लङ्घन गरेको आरोपसमेत उहाँले लगाउनुभयो ।
चीन भ्रमणपछि शुक्रबार बोल्दै ट्रम्पले इरानले दशकौँदेखि अन्तरराष्ट्रिय समुदायलाई भ्रममा पारेको आरोप लगाउनुभएको थियो । वासिङ्टन वास्तविक सम्झौताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले इरानले ५१ वर्षदेखि नक्कली सम्झौताको अभ्यास गर्दै आएको टिप्पणी गर्नुभयो । इरानसँग हुने सम्झौताको स्वरूपले पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित पार्न सक्ने उहाँको भनाइ थियो ।
ट्रम्पले द्वन्द्वका क्रममा भएको क्षतिको लागतसमेत इरानले व्यहोर्नुपर्ने तर्क गर्नुभएको छ । यसैबीच, पश्चिम एसियामा तनाव जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्ध थप सैन्य कारबाही गर्न अमेरिकी प्रशासनलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।एएनआई
