- दुई सातापछि रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन ।
- विमानस्थल असुरक्षित रहेको भन्दै हुथीद्वारा वायुसेवा कम्पनी र यात्रुलाई चेतावनी ।
- साउदी नेतृत्वको गठबन्धनद्वारा रियाद क्षेत्रमा दुई ड्रोन खसालेको दाबी ।
रियाद । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।
‘फ्लाइटराडार’ नामक उडान अनुगमन वेबसाइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दातर्फ गइरहेको देखाएको छ । साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले पछिल्ला साताहरूमा हुथी विद्रोहीका निरन्तर आक्रमणको सामना गरिरहेका छन् । यसै गर्मीयाममा लामो समयदेखि कायम युद्धविराम भङ्ग भएपछि आक्रमण तीव्र भएका हुन् ।
यस द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक टकरावको केन्द्र यमनतर्फ मोडिदिएको छ । साथै, विश्वकै गरिब मुलुकहरूमध्ये एक यमनमा मानवीय सङ्कट थप गहिरिएको छ ।
रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै अक्टोबर २५, आइतबारदेखि लागू हुने गरी टर्मिनल १ आन्तरिक उडानका लागि र टर्मिनल २ राष्ट्रिय वायुसेवा कम्पनीद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको जानकारी दिएको थियो ।
हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी पटक-पटक आक्रमण गरेका छन् । यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए । यो साउदी अरबमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमण थियो । हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै असुरक्षित रहेको र सैन्य लक्ष्यका रूपमा रहेको चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “यमनी सशस्त्र बलहरूले सबै अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरू, साथै तिनका कर्मचारी र यात्रुहरूलाई रियादस्थित किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छन्, किनकि यो असुरक्षित छ र हाम्रा सेनाका लागि सैन्य लक्ष्यका रूपमा रहेको छ ।”
यसैबीच, हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ ।एएफपी
