- बेलायतस्थित फेयरफोर्डबाट सबै बी-१ बमवर्षक फिर्ता ।
- इरानसमर्थित षड्यन्त्रसँग सम्बन्धित खतरा रहेको अमेरिकी अधिकारीको दाबी ।
- घटनामा इरानको संलग्नता तेहरानद्वारा अस्वीकार ।
वासिङ्टन । अमेरिकाले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधारमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको पुष्टि गरेको छ ।
अमेरिकी अधिकारीका अनुसार ‘नयाँ खतरा’का कारण विमान फिर्ता लगिएको हो । यद्यपि बेलायती सरकारले सोमबार फेयरफोर्ड हवाई आधार सुरक्षित रहेको जनाएको छ ।
दक्षिण-पश्चिम बेलायतस्थित उक्त हवाई आधारमा सेप्टेम्बर २७ मा स्थानीय किसानले धेरैवटा भ्यानमा आएका मानिस शङ्कास्पद गतिविधिमा संलग्न रहेको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटनापछि आतङ्कवादविरोधी अनुसन्धान सुरु गरिएको थियो भने हवाई आधारनजिकका ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
आतङ्कवादविरोधी प्रहरीले भ्यानमा कुनै विस्फोटक पदार्थ नभेटिएको तर केही परिमाणमा पेट्रोल बरामद भएको जनाएको छ । अमेरिकी सेनाले इरानविरुद्धको कारबाहीमा यही हवाई आधार प्रयोग गर्दै आएको थियो ।
पेन्टागनका एक अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमार्फत फेयरफोर्डमा तैनाथ अमेरिकी बमवर्षक विमान अमेरिकास्थित आफ्ना आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् । परिचालनगत सुरक्षाका कारण विमान र सैनिकको आवतजावतबारे वास्तविक समयमा जानकारी दिन नसकिने विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी अधिकारीले बमवर्षक विमान ‘खुलासा नगरिएको नयाँ खतरा’का कारण फिर्ता लगिएको बताएका छन् । दुई अमेरिकी अधिकारीले ‘द न्युयोर्क टाइम्स’लाई इरानसमर्थित षड्यन्त्रसँग सम्बन्धित नयाँ खतराको सूचना पाएपछि विमान सारिएको बताएका छन् ।
उनीहरूका अनुसार तीन साताअघि देखिएका सुरक्षा चेतावनीसँग सम्बन्धित नयाँ जानकारी पछिल्लो २४ घण्टामा गम्भीर बनेपछि विमान फिर्ता पठाइएको थियो ।
फेयरफोर्ड हवाई आधार सुरक्षित रहेको विषयमा बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका प्रवक्ताले ‘हो’ भन्दै बेलायतसँग देशभित्र र विदेशमा रहेका आफ्ना सैन्य हवाई आधारको सुरक्षा गर्न ‘परीक्षण गरिएका र प्रमाणित विधि’ रहेको बताउनुभयो ।
घटनाको उद्देश्यबारे आतङ्कवादी गतिविधिदेखि इन्धन चोरीसम्मका विभिन्न अनुमान गरिएका छन् । बर्नहमले घटनामा इरानको भूमिका रहेको ‘बलियो सङ्केत’ देखिएको बताउनुभएको छ । तेहरानले भने उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
सेप्टेम्बरको घटनामा पक्राउ परेका बेलायतमा बसोबास गर्ने छ जना पुरुषलाई धरौटीमा रिहा गरिएको थियो । उनीहरूमध्ये केहीसँग बेलायती-इरानी दोहोरो नागरिकता रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई रिहा गर्ने निर्णयको आलोचना गर्नुभएको छ ।
बेलायतस्थित इरानी दूतावासले घटनामा तेहरानको संलग्नता रहेको अनुमानलाई ‘स्पष्ट रूपमा अस्वीकार र कडा निन्दा’ गरेको जनाएको छ ।
घटनालाई थप रहस्यमय बनाउँदै बेलायती सञ्चारमाध्यमले प्रारम्भिक शङ्कास्पदमध्ये एक व्यक्तिले नै प्रहरीलाई घटनाबारे जानकारी दिएको जनाएका छन् । प्रहरीले भने यी रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन । हालैका दिनमा हवाई आधारको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
बेलायतले मार्चमा अमेरिकालाई इरानविरुद्ध ‘विशिष्ट रक्षात्मक कारबाही’का लागि फेयरफोर्ड हवाई आधार प्रयोग गर्न अनुमति दिएको थियो । त्यसयता अमेरिकी बमवर्षक तथा अन्य सैन्य विमानले उक्त हवाई आधारबाट उडान र अवतरण गर्दै आएका थिए ।
फेयरफोर्ड बेलायतको मुख्य भू-भागमा अमेरिकी बमवर्षक विमानका लागि प्रयोग हुँदै आएको प्रमुख हवाई आधार हो ।
घटनाको सुरुआत वेल्फोर्ड गाउँका एक किसानले सडक अवरुद्ध गरिरहेका तीनवटा भ्यान र घटनास्थलबाट भागिरहेका मुखुन्डो लगाएका मानिस देखेपछि प्रहरीलाई जानकारी दिएसँगै भएको थियो ।
हवाई दृश्यमा भ्यानभित्र ब्यारेल देखिएका थिए भने कम्तीमा एउटा भ्यानमा नक्कली लोगो र फोन नम्बर राखिएको थियो । यसले उक्त भ्यानलाई आधिकारिक डिजेल आपूर्ति कम्पनीको जस्तो देखाएको थियो । एएफपी
