RayNewsDaily
इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
  • इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर पुग्यो ।
  • हतियार र क्षेप्यास्त्रमा मात्रै २८ अर्ब १० करोड डलर ।
  • क्षेप्यास्त्र भण्डारमा दबाब, थप खर्च बढ्ने अनुमान ।

वासिङ्टन । इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी सेन्ट्रल कमान्डले सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता खर्च निरन्तर बढिरहेको छ । यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्म युद्धमा ३८ अर्ब डलर खर्च भएको अनुमान गरेको थियो । युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब ३ अर्ब डलर थप खर्च हुन सक्ने कार्यालयले जनाएको छ ।

पछिल्लो विवरणअनुसार कुल खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ । त्यसका लागि २८ अर्ब १० करोड डलर खर्च भएको अनुमान छ । अगस्ट १ सम्मको २१ अर्ब ७० करोड डलरको अनुमानको तुलनामा यो रकम ६ अर्ब ४० करोड डलरले बढेको हो ।

अमेरिकी सेनाले प्रयोग गरिरहेका महँगा हतियारमध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र प्रमुख छन् । विशेषगरी प्याट्रियट र थाड प्रणालीका इन्टरसेप्टरको माग बढेको छ । युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारमा दबाब परेको र युरोपमा अमेरिकी तथा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) अधिकारीहरूले प्रतिरक्षात्मक क्षेप्यास्त्रको अभावलाई गम्भीर समस्या बताएका छन् । साउदी अरबमा पनि यस्ता क्षेप्यास्त्रको भण्डार घटिरहेको विवरणमा उल्लेख छ ।

अमेरिकी सेन्ट्रल कमान्डको विवरणमा युद्धपोत, विमान र सैन्य अखडाको सञ्चालन, युद्धमा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणको प्रतिस्थापन तथा सैनिकको उपचारलगायत खर्च समेटिएको छ । उपकरण क्षतिको लागत मात्रै करिब ४ अर्ब ३० करोड डलर रहेको अनुमान छ ।

तर इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट मध्यपूर्वका अमेरिकी सैन्य अखडामा भएका क्षतिको पुनर्निर्माण खर्च ४३ अर्ब ६० करोड डलरको पछिल्लो अनुमानमा समावेश गरिएको छैन । अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य संरचनामा क्षति पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ८३० भन्दा बढी घाइते भएका छन् ।

युद्धको खर्च बढ्दै गएपछि अमेरिकी प्रशासनले थप सैन्य बजेटको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ । प्रशासनले इरान युद्ध तथा अन्य रक्षा प्राथमिकताका लागि ९५ अर्ब डलरको थप बजेट प्याकेजका लागि संसद्सँग अनुरोध गरेको छ । साथै आगामी वर्षका लागि १.५ ट्रिलियन डलरको सैन्य बजेट प्रस्ताव अघि सारेको छ ।

युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन । तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा अवरोध हुँदा विश्व बजार र मुद्रास्फीतिमा समेत असर पर्न सक्ने कंग्रेसनल बजेट कार्यालयले जनाएको छ । युद्धको तीव्रता कायम रहेमा हरेक महिना थप २ देखि ३ अर्ब डलरसम्म खर्च हुन सक्ने कार्यालयको अनुमान छ । एपी

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update